२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकी राष्ट्रपति बाइडेनकाे सल्लाह विपरित सभामुख पेलोसी ताइवानकाे संसदमा


15.015k
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र अमेरिकी सेनाको सल्लाह विपरित ताइवान पुग्नु भएकी अमेरिकी सभामुख न्यान्सी पेलोसी आज (बुधबार) बिहानै ताइवानको संसदमा पुग्नु भएको छ ।

त्यहाँ उहाँले ताइवानी उपसभामुख थाइ छि छाङसँग भेटवार्ता गर्नुभएकाे हाे । साथै बुधबार नै ताइवानी राष्ट्रपति थाइ इङ वेनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सभामुख पेलोसीले ताइवानी ब्यापारी तथा उद्योगीहरु र स्वतन्त्रता पक्षधर नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकामा तेस्रो बरियतामा रहनुभएकी सभामुख पेलोसी २५ वर्षपछि ताइपेई पुग्ने अमेरिकी उच्च अधिकारी हुनु भएकाे छ । मलेसियाबाट उडेको सभामुख पेलोसीको विमान कता जान्छ भन्ने थाहा नभईकन ताइवानी आकाशमा प्रवेश गरेको थियो । चिनियाँ सेनाले विमान खसाल्ने त्रासले अमेरिकी वायुसेनाका युद्धक विमानहरुको घेरामा उहाँ ताइपेइ पुग्नु भएको थियो ।

सभामुख पेलोसीको विमान क्वालालम्पुरबाट उडेपछि ३ लाख बढी मानिसहरुले विमान पछ्याइरहेका थिए । उहाँलाई ताइवानको विमानस्थलमा पनि युद्धकै शैलीमा सुरक्षा ब्यवस्था गरिएको थियो । विमानस्थलमा फोटो पत्रकारलाई समेत नजिक जानबाट बञ्चित गरिएको थियो ।

ताइवानको प्रजातान्त्रिक सरकारप्रति ऐक्यवद्धता प्रदर्शन गर्न ताइपेइ पुग्नु भएकी सभामुख पेलोसीले ताइवानी राष्ट्रपति थाइ इङ वेनसँग वार्ता गर्ने जनाइएकाे छ । अमेरिकाले ताइवानलाई अहिलेसम्म छुट्टै देशको मान्यता भने दिएको छैन् ।