१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पामा सडक बालबालिका र मानसिक रोगीको संख्या बढ्दै

उद्धार र व्यवस्थापनमा एनजीओको भर

468
Shares

पाल्पा । पाल्पामा सडक बालबालिका र मानसिक रोगीहरुको संख्या बढ्दै गएको छ ।

त्यसको व्यवस्थापनमा अझै पनि सम्बन्धित निकायले ध्यान दिएको पाईदैन । तर, समस्याका रुपमा बढ्दै गएपछि स्थानीय अभियान नेपालले उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र रोजगारीको समेत व्यवस्थापन गर्दै आएको छ ।

झण्डै दुई दशक अगाडि पाल्पाको मिसन अस्पतालका निर्देशक अष्ट्रेलियन नागरिक डिग्वे ह्विलले अस्पतालको आसपासमा सडक बालबालिका, मानसिक रोगीहरु भेटेपछि उनीहरुको उद्धारको लागि उनले अभियान नेपाल नामक संस्था खोलेर निरन्तर रुपमा सहयोग गर्दै आएका छन् । विदेशमा रहेका नेपाली र मिसन अस्पतालको सहयोग, स्थानीयको व्यवस्थापनमा सडक बालबालिका र मानसिक रोगीहरुको कल्याण र उपचार मात्र होइन् यहाँबाट बालबालिका उच्च शिक्षा अध्ययन गर्न समेत सफल भएका छन् ।

त्यसै गरी मानसिक रोगीहरुको समेत राम्रो व्यवस्थापन र उपचारका कारण निको भएर घर फर्किने गरेका छन् । सडकमा बेवारिसे अवस्थामा उद्दारगरि ल्याइएकी पवित्रा राना यसै संस्थाको सहयोगमा माध्यमिक तहसम्मको अध्ययन पूरा गरी उच्च शिक्षाको क्रममा इञ्जिनियरिङ विषय अध्ययन गरेको बताउँछिन् ।

सडकबाट उद्धार गरी ल्याइएको होस् वा आर्थिक अभावले पढ्न नपाएका बालबालिका हुन् । उनीहरुको संरक्षणसँगै अध्ययनममा अभियान नेपालले सहयोग गर्दै आएको छ । आफूहरुको अभिभावकत्वसँगै पठन–पाठनमा संस्थाले सहयोग गर्दै आएको बालबालिकाहरु बताउँछन् । सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिकाहरुको उद्धार गरी उनीहरुको शिक्षा, दीक्षा र पालनपोषणमा सहयोग भएपछि अनुसाशासनसँगै पढाईमा अब्बल बन्दै गएको संस्थाकी कर्मचारी इन्दिरा बुचाले बताउनुभयो।

आर्थिक अवस्था कमजोर भएका, आफन्त गुमाएका, सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिकाहरुसँगै मानसिक सन्तुलन गुमाएकाहरुको संरक्षण, औषधि उपचार र दैनिक व्यवस्थापनमा संस्थाका लागि सहयोगी हातहरु खुम्चिन लागेपछि संस्थाले व्यवसायिक रुपमा पशुपालन र तरकारी खेतीको सञ्चालन गरेको छ । संस्थाको संरक्षणमा धेरै मानसिक रोगीहरु निको भएर घर फर्किएको संस्थाका इञ्चार्ज फूलु राईको अनुभव छ ।

युनाईटेड मिसन अस्पताल र विभिन्न दातृसंस्थाहरुको सहयोगमा यहाँका विपन्न, अभिभावकविहीन, बेसाहरा बालबालिकाका साथै मानसिक बिरामीहरुको उपचार र संरक्षण गर्दै आइएको भएपनि पछिल्लो समय ठूलो संख्यामा यस्ता मानसिक बिरामी थपिंदै गएकाले व्यवस्थापनमा थप समस्या हुँदै गएको छ ।

संस्थामा हाल १७ जना बेवारिसे बालबालिका र १२ जना मानसिक बिरामीहरुको उपचारसँगै व्यवस्थापन हुँदै आएको छ । गरिब, विपन्न वर्ग र साहाराविहीन बालबालिकाहरुको क्षेत्रमा काम गर्ने यस्ता संस्थाहरु प्रत्येक जिल्लामा हुनु आवश्यक छ । मानवीय सेवामा समर्पित संस्थाहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउन राज्य र सम्बन्धित निकायले यसतर्फ ध्यान दिन जरुरी छ ।