१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थारु समुदायमा गुरही पर्वको छुट्टै राैंनक


195
Shares

कैलाली । थारु समुदायको चाड पर्वको सुरुवातको रुपमा लिइने गुरही पर्व देशभर मनाइएको छ ।

नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले गुरहीलाई थारु समुदायले धुमधामसँग मनाउने गर्दछन् ।

थारु समुदायमा गुरही पर्व मनाउनुको अर्थ, नाग बाबालाई पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । यो पर्वको यस समुदायमा आफ्नै धार्मिक महत्व छ ।

थारु समुदायामा गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद सुरु भएको मानिन्छ । खेतीपातीको काम भ्याएर सबै जना घरमा फुर्सदिलो भएका बेला खुशीका साथ यो पर्व मनाउने गरिन्छ । नागबाबालाई घरकोद्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकूँन् भन्ने मान्यता रहेको थारु अगुवा माधव चौधरीको बुझाई छ ।

साँझको समयमा गाई-गोरु चरेर गोठमा भित्रिएपछि बडघर अर्थात भलमन्साको पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु जमघट हुने चलन छ । नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहातिर भेला हुने गरीन्छ । गुरही ठटाउने गन्तव्य कायम गरेको हुन्छ ।

चौराहामा गाउँका भद्र भलादमीदेखि केटाकेटी र ज्येष्ठ नागरिकसम्म भेला भएका हुन्छन् । गाउँका बडघरले एकै सासमा (एकसंस्सु) दुबो घाँसमा गाँठो पार्ने चलन छ । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि सबैले त्यसलाई आफूसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउने गरिन्छ ।

गुरही पर्वमा थारु समुदायले चौकमा ठटाएको भुजा र कपडाको टुक्रा संकलन गरेर घरतिर लाग्दै गुरही ठटाउने चलन छ । ठटाएका कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र दुबोलाई घरमाराख्दा घरमा रहेको दुःख कष्ट र सर्प बिच्छिहरु घरबाट निस्केर जाने विश्वास थारु दिदी-बहिनी हरुमा छ ।

थारु समूदायमा विभिन्न संस्कृति विद्यमान छन् । संस्कृतिका धनी थारुहरु यीनै संस्कृतिकै माध्यमबाट आफ्ना दुःख पीडा र खुशीयालीमा थोरै भएपनि मनोरञ्जन लिने गर्छन् । गरीबी, अशिक्षा र भोकमरीले गाँजेको समाजले दुःखमा मन बहलाउने काम संस्कृतिबाटै गर्ने प्रचलन छ । तर तिनै लोक संस्कृतिलाई पछिल्लो समय पश्चिमा संस्कृतिले ओझेलमा पार्दै जाँदा संस्कृतिको संरक्षण र संबर्द्धनमा चुनौती पनि थपिएको छ ।