
बारा । मधेश प्रदेश सरकारले बाराको सिमरास्थित तारे होटलमा उद्योगीविनाको औद्योगिक सम्मेलन सम्पन्न गरेको छ ।
आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र आगामी सुधारका कार्यहरू मूल विषय रहेको सम्मेलनमा एकाध अतिथि, प्रदेश सरकारका मन्त्री र कर्माचारी तथा केही एनजिओका प्रतिनिधिले बोलेर सम्मेलन सकिएको हो ।
सरकारी तथा निजी क्षेत्रका एउटै सञ्चार संस्था तथा पत्रकारलाई आमन्त्रण नगरिइएको उक्त सम्मेलन गोप्य राख्नुको कारणबारे जिल्लासहित प्रदेशभर चर्चा भएको छ ।
औद्योगिक सम्मेलनमा उद्योगीको उपस्थिति नभएपछि सम्मेलनको औचित्यमाथि प्रश्न उठ्ने भन्दै गोप्य राखिएको हुनसक्ने आयोजकमध्येको एक संस्थाका प्रतिनिधिले ईमेजखबरलाई बताए ।
मुख्यमन्त्री राउतले सम्मेलनको तयारीबारे आफू अनविज्ञ रहेको बताउँदै पत्रकार सम्मेलन गरेर यसको जानकारी गराउने बताउनुभयो ।
प्रदेशको मुख्य औद्योगिक क्षेत्रमध्येको एक वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालिक उद्योगका उद्योगीले सम्मेलनको बारेमा मंगलबार साँझ मात्र जानकारी पाएको बताए ।
प्रदेश सरकार र विभिन्न संघसंस्थाको आयोजनामा भएको सम्मेलन बजेट सक्ने मेसो भएको स्थानीय उद्योगीको बुझाइ छ । एक उद्योगीले भने– ‘नत्र, उद्योगीविनाको औद्योगिक सम्मेलनको के औचित्य ?’
करोडौंको लागतमा सम्पन्न निष्कर्षविहीन सम्मेलनमा प्रारम्भिक रूपमा प्रदेश सरकारको २५ लाख रुपैयाँ खर्च भएको र बाँकी खर्चको बारेमा पछि जानकारी गराइने प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्