१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती प्रदेशको बजेट फ्रिज


325
Shares

काठमाडौं । बागमती प्रदेश सरकारको हरेक आर्थिक वर्षको रकम फ्रिज हुने गरेको छ ।

हरेक वर्ष प्रदेश सरकारले बजेट खर्च बढाउने दाबी गर्दै आएको छ । तीनपटक सरकार परिवर्तन भएको बागमतीमा आर्थिक वर्षको सुरुवातमा बजेट ल्याउँदा खर्च बढाउने दाबी गरे पनि फ्रिज हुने रकममा कमी आएको छैन ।

आर्थिक वर्ष २०७८/०७९ मा पनि बागमती सरकारले बजेट खर्च बढाउन सकेन । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा बागमतीमा १९ अर्ब ४४ करोड ४८ लाख ८१ हजार ६ सय ५० रुपैयाँ फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याइएको बागमतीमा असार मसान्तसम्म ३८ अर्ब २८ करोड ४३ लाख आठ हजार आठ सय ३५ रुपैयाँ अर्थात ६६.१९ प्रतिशत खर्च गरेको कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिनुभयो ।

चालूगततर्फ ७० दशमलव ७७ र पुँजीगततर्फ ६३ दशमलव १६ प्रतिशत खर्च भएको छ । चालूतर्फ २३ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १५ अर्ब ९७ करोड १४ लाख ९८ हजार तीन सय ८० रुपैयाँ र पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ बजेटमध्ये २१ अर्ब एक करोड २८ लाख १० हजार चार सय ५४ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

बागमती सरकारले चालू आर्थिक वर्ष ०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालूतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब दुई करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ११ दशमलव ७७ प्रतिशत अर्थात आठ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ दशमलव ८१ प्रतिशत अर्थात दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ ।