
काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उहाँले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई विवादमा धकेलेको बताउनुभयो ।
सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको उहाँले बताउनुभयो ।
बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले मागेको सामग्री उपलब्ध नगराएर सरकारले मिनि संसदको अवहेलना गरेको आरोप लगाउनुभयो ।
एमाले सांसद खेमप्रसाद लोहनीले सरकारसँग संसदीय समिति र सिंगो संसदले अमेरिकालाई एसपीपीमा सहभागी नहुने भनेर पठाएको पत्र माग गर्दा दिन हिच्किचाएको आरोप लगाउनुभयो ।
कांग्रेस सांसद लक्ष्मी परियारले संसदमा जवाफ दिइसकेपनि समितिको बैठकमा उपस्थिति भएर त्यसबारेमा स्पष्ट पार्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्