१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा फेरि थुप्रिन थाल्यो फोहोर, महामारीको जोखिमसँगै व्यवसायमा धक्का


403
Shares

सन्दीप श्रेष्ठ
काठमाडौं । काठमाडौं उपत्यकाका सार्वजनिक ठाउँमा फेरि फोहोर थुप्रिन थालेको छ ।

घर–घरबाट ल्याइएको फोहोर गल्ली, चोकमा थुप्रो लगाउँदा दुर्गन्धले जनस्वास्थ्य मात्र प्रभावित भएको छैन, फोहोर व्यवस्थापनमा काम गर्ने मजदूरले समेत आफूलाई असुरक्षित महसूस गर्न थालेका छन् ।

घर, पसल अगाडि फोहोरको थुप्रो लगाइँदा व्यक्तिगत जनजीवन र व्यवसाय समेत घटेको व्यवसायीहरूको दुःखेसो छ । विभिन्न कारण देखाएर काठमाडौंको फोहोर व्यवस्थापन हुन छाडेको धेरै भइसक्यो ।

फोहोरको दुर्गन्धले जनजीवन अस्तव्यस्त भएपछि स्थानीय हारगुहार गर्न वडा कार्यालय पुग्छन् । तर, वडाले यसको जवाफदेहीता कम्पनीसँग भएको भन्दै आफूले केही गर्न नसक्ने जवाफ दिन्छ ।

रातोपुल नजिकै काठ मिल सञ्चालन गर्दै आएका व्यवसायी दीपक पाैडेल गर्नै मुस्किल भएको गुनासो गर्नुहुन्छ । मास्कले समेत फोहोरको गन्ध छेक्न नसकेको उहाँको गुनासो छ ।

काठमाडौंमा फोहोरको साम्राज्य छ । पैदलयात्रु नाक थुनेर हिँड्न बाध्य छन् । बञ्चरेडाँडाको समस्या सुल्झिएपछि फोहोर व्यवस्थापन सहज हुने विश्वास गरेका स्थानीय एकाएक यस्तो माहोल भोग्नुपरेपछि निरास बनेका छन् ।

रातोपुल र सेतोपुलको व्यस्त करिडोरमा फोहोर थुपार्न थालिएको डेढ महिना बित्यो । एकातिर खोलामा फोहोर मिसाउन नपाइने नियम छ भने अर्कातिर बर्खामासमा नदी किनारमा फोहोरको पहाड खडा हुँदै गएको छ ।

सार्वजनिक बिदाका दिन डोजर ल्याएर फोहोर फाल्ने पटक–पटक निर्णय भए पनि कार्यान्वयन नहुँदा स्वयं फोहोर व्यवस्थापनमा काम गर्नेहरू हैरान छन् । धेरै दिन फोहोर राख्दा त्यसले आफूहरूको स्वास्थ्यमा स्वास्थ्यसमेत समस्या देखिएको उनीहरू बताउँछन् ।

स्थानीय निकायको चुनाव सम्पन्न भएको झण्डै तीन महिना हुन लागेको छ । हरेक प्रत्याशीको पहिलो र अन्तिम एजेण्डा भनेकै काठमाडौंको फोहोर व्यवस्थापन थियो । तर, अहिलेसम्म सार्वजनिक ठाउँमा फोहोरको रजगज देख्दा फोहोरमाथिको राजनीति कति जबर्जस्त रहेछ भन्ने पुष्टि हुन्छ ।