२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोकमा वर्षाका कारण विभिन्न ठाँउमा बाटो बन्द, आवतजावतमा समस्या


442
Shares

सिन्धुपाल्चोक । शुक्रबार रातिदेखि आएकाे अविरल वर्षाका कारण मेलम्ची खोलामा पानीको बहाव बढेको छ ।

साेही बहाव बढेसँगै हेलम्बु मेलम्ची मार्गको विभिन्न ठाँउमा बाटो बन्द भएको हाे । मेलम्चीको सिमखेतमा बाढीका करण बाटो अवरुद्ध भएको छ । खोला बहाव बढेर आएपछि बाटोमा खोला पसेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै मेलम्ची नगरपालिकाको वडा नम्बर २ को निबुगाँउमा पहिरोका कारण बाटो बन्द भएको उहाँले बताउनुभएकाे हाे । उता मेलम्ची भोताङ सडकखण्डमा पर्ने राम्चेमा पहिरोका कारण अवरुद्ध भएको बाटो खुलाउने काम भईरहेको उहाँले बताउनुभयाे ।

गत वर्षको असार १ गतेको बाढीमा सबै भन्दा बढी क्षति व्यहोरेको हेलम्बुमा पनि बाढीको बितण्डा कायमै रहेको छ । हेलम्बुमा वर्षयाम सुरु भएसागै दैनिकजसो बाटोहरु अवरुद्ध हुँदै आएका छन् । शुक्रबार रातिको बाढीका कारण ग्याल्थुम बजार जोखिममा रहेको छ । साथै ढुग्रे बजारमा बाढीका कारण बाटो अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिकाको वडा नम्बर ५ को शिरिसेमा पहिरोले एक गोठ पुरिंदा ३ वटा बाख्रा मरेका छन् । सोही पहिरोका कारण ७ घर जोखिममा रहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयाे । हेलम्बुको भुमेश्वरी माध्यमिक विद्यालय नजिक अहिले बाटो बनाउने काम भईरहेको पनि उहाँले बताउनुभयाे ।

शुक्रबार रातिदेखि आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहीरोको जोखिम देखिएको छ । अरनीको राजमार्ग अन्तर्गतको जुरेमा लेदो माटोले पुरिएर बन्द भएको बाटो खुलाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै बाढीका कारण साँधीखोलामा रहेको ह्युमपाईप बगाएपछि ठूला बाहक सवारी आवागमनमा समस्या देखिएको छ । शनिबार बिहान सोही खोलामा एउटा मालबाहक ट्रक खोलामा खसेको छ । तर मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयाे ।