
काठमाडौं । जनता समाजवादी पार्टीबाट निस्कासित नेता डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी क्षेत्रीय संकीर्ण दलको रूपमा पतन भएको बताउनुभएको छ ।
पुनर्गठित नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्र्दै डा. भट्टराईले जनता समाजवादी पार्टी क्षेत्रीय संकीर्ण दलको रूपमा पतन भएको बताउनुभयो । क्षेत्रीय दलले देशको वैकल्पिक धारको नेतृत्व गरेर जान नसक्ने उहाँले बताउनुभयो ।
जनता समाजवादी पार्टीलाई समाजवादी विचारसहितको वैकल्पिक शक्तिको रूप रूपान्तरणको प्रयास गरे पनि नेतृत्वले पुरानै शैली नत्यागेकाले पनि आफूहरू नयाँ विकल्प रोज्न बाध्य भएको उहाँको भनाइ छ ।
विज्ञानको आविस्कार थुप्रै चिजहरूबाट गुज्रेर मात्र भएजसरी आफूहरूले थुप्रै परीक्षणहरूबाट गुज्रिएर नेपाल समाजवादी पार्टी पुनर्गठन भएको उहाँले बताउनुभयो ।
नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय समितिले वैधानिकताको प्रक्रियालाई पूरा गर्ने भन्दै उहाँले आफूहरूसँग भएको वैकल्पिक विचार र नयाँ प्रणालीले देशलाई वैकल्पिक बाटो देखाउने दाबी गर्नुभयो ।
सडक, सदन र सरकारको संयोजनबाट मात्र समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य पूरा हुनसक्ने भन्दै उहाँले निर्वाचन एक्लै जाने वा चुनावी तालमेल वा गठबन्धन गर्ने भन्नेबारेमा पार्टीमा छलफलपछि आवश्यक निर्णय लिने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्