१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेटौंडाका उद्योगले १४ करोड भाडा नबुझाएको खुलासा


143
Shares

काठमाडौं । हेटौंडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोड रुपैयाँभन्दा बढी भाडा बुझाउन बाँकी रहेको खुलासा भएको छ ।

कार्यालयले विभिन्न उद्योगहरूलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरे पनि रकम बुझाएका छैनन् ।

लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो ।

साउनभित्र भुक्तानी दिएमा बिलको रकममा तीन प्रतिशत छुट, असोज मसान्तसम्म बिलअनुसारको रकम र कात्तिकबाट जरिवाना हुनेसमेत जनाएको छ ।

हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडारीले केन्द्रीय कार्यालयको निर्णयानुसार उद्योगलाई बिल पठाइएको बताउनुभयो ।

भाडा रकम नलिने अधिकार आफूहरूसँग नभएको भन्दै यथाशीघ्र रकम भुक्तानी गर्न उहाँले उद्योगीलाई आग्रह गर्नुभएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा प्रतिरोपनी आठ हजार तीन सय ३१ तिर्दै आएका उद्योगले अब १९ हजार छ सय ९१ का दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्नेछ ।

कार्यालयले औद्योगिक क्षेत्रका एक सय ४९ उद्योगलाई पत्रसहित बिलसमेत पठाएको प्रमुख बिडारीले बताउनुभयो । लिमिटेडको निर्णयानुसार उद्योगले सो भाडा यसै महिनाभित्र तिर्नुपर्नेछ ।

गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापानले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई दबाव दिएको उहाँको भनाइ छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग सङ्घ मकवानपुरले विरोध गरेको छ ।