
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारका कारण देश लडाइँको मैदानतर्फ धकेलिएको बताउनुभएको छ ।
एमाले काभ्रेले धुलिखेलमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेपाल अन्तराष्ट्रिय शक्ति राष्ट्रको क्रिडास्थल जस्तो बनेको बताउनुभएको हो ।
कुनै एउटा राष्ट्रको पक्षमा भइरहेको समर्थन, एमसीसी र एसपीपीको उदाहरण दिँदै उहाँले सरकारले असंलग्न परराष्ट्र नीति, पञ्चशिलको सिद्धान्त भुलेको आरोप लगाउनुभयो ।
राष्ट्रको झण्डा बोकेकै कारण एमाले निशानामा परेको सचिव भट्टराईको तर्क थियो । देश र जनताको पक्षमा दरोसँग उभिने पार्टी एमाले मात्रै रहेको पनि उहाँको दाबी छ ।
परालको खुट्टा भएको कांग्रेस, सम्झौता गर्दै हिड्ने माओवादी केन्द्र र कांग्रेसको मतसहित ४ प्रतिशत मत पाएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकको नेतृत्व गर्न नसक्ने उहाँको ठोकुवा छ ।
एक्लै चुनावी प्रतिस्पर्धा गर्न नसकेर पाँच दलबीच गठबन्धन हुनुले एमाले सबैभन्दा बलियो शक्ति भएको स्पष्ट हुने भट्टराईले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा, एमाले नेता विजय सुवेदी, जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले समसामयिक प्रशिक्षण दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्