
बारा । बाराको निजगढ नगरपालिकामा तालाबन्दी गरिएको छ ।
वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले सोमबार मेयर सुरथ पुरी र उपमेयरको कार्यकक्षमा ताला लगाएका हुन् । सरुवाको विषयलाई लिएर मेयर पुरी आफंैले पनि एकसाता अघि प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको कार्यकक्षमा ताला लगाएका थिए ।
तालबन्दी पछि सेवाग्राही मर्कामा परेको विरोधमा सोमबार अध्यक्ष र कार्यपालिका सदस्यहरु मिलेर मेयर र उपमेयर दुबैको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । केही समयअघि कार्कीको सरुवा भएपछि हरीलाल पुरीलाई मन्त्रालयले पुनः फिर्ता बोलाएर कार्कीलाई नै नगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी फिर्ता गरेपछि प्रमुख पुरीले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाईदिएका थिए ।
कार्मचारी जो भए पनि मेयरले काम गराउने हो । तर, उल्टो सेवा अबरोध जारी राखेको भन्दै वडा अध्यक्ष सूर्य घलानलगायतले कार्कीलाई हाजिर नगराएसम्म मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन् ।
तोकिएकै समयमा नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत भए पनि बजेट भने प्रस्तुत हुन सकेको छैन । कार्यपालिका बैठक समेत बस्न नसकेको वडाध्यक्षहरु बताउछन् । निजगढ नगरपालिकामा भएको तालाबन्दी पछि सेवाग्राही भने मर्कामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्