१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


हङकङ संसदमा तनाव केही सांसदलाई घिसारेर निकालियो


0
Shares

एजेन्सी, जेठ ५ । हङकङमा चिनियाँ राष्ट्रगानसम्बन्धी प्रस्तावित कानुनमा विवाद हुँदा केही प्रजातन्त्रवादी सांसदलाई घिसारेर सदनबाट बाहिर निकालिएको छ ।

चिनियाँ राष्ट्रगानको अनादरलाई अपराध मानिने व्यवस्थासम्बन्धि अध्यादेशलाई प्रभावित पार्न सक्ने एक संसदीय समितिको नेतृत्वबारे सांसदहरूबीच विवाद हुँदा अप्रिय अवस्था आएको हो ।

संसद्बाट बाहिर निकालिएका सांसद एडी चुले हङ्कङमा प्रजातन्त्र भएको भए हामीले यसरी झगडा गर्नु पर्दैनथ्यो भने । उनले अब संसदभित्र र बाहिर थप भिडन्त हुने बताए । कोरोनाभाइरस महामारीका कारण गत वर्ष शुरु भएको सडक आन्दोलन मत्थर भएका बेला फेरि नयाँ रडाको मच्चिएको हो ।

गत साता संसद्का अध्यक्ष चीनपक्षधर सांसद चान किन पोरलाई उक्त समितिको नेतृत्व छान्न निर्वाचन गराउने जिम्मेवारी दिएकामा सोमवार संसद् बस्नुअघि चान २० भन्दा बढी सुरक्षाकर्मी वरिपरि राखेर अध्यक्षको आसनमा बसेका थिए । त्यहीबेला प्रजातन्त्रवादी सांसदहरू उनीतिर जान खोज्दा सुरक्षाकर्मीले रोकेपछि भिडन्तको अवस्था आएको हो ।

सुरक्षाकर्मीहरुले विरोध गर्ने सांसदलाई कम्बलले छोप्न खोजेपछि अरू सांसद प्रतिकारमा उत्रिएका थिए । तनाबका बीचमा एक जना भुइँमा लडेर घाइते भएका थिए । अधिकांश प्रजातन्त्रवादी सांसद बाहिर निकालिएपछि बेइजिङलाई समर्थन गर्ने स्टारी लीलाई उक्त समितिको अध्यक्ष घोषणा गरिएको जनाइएको छ । 

गत वर्ष सुपुर्दगीसम्बन्धी एउटा विधेयक ल्याउँदा पनि हङ्कङमा यस्तै विरोध र लामो आन्दोलन भएको थियो ।