
काठमाडौं । प्रतिनिधि सभाका सांसद हृदयेश त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बाेल्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले नयाँ निजामति कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दावी गर्नुभयो। सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा रहेको बताउनुभयो ।
उहाँले निजीमति ऐन नबनेसम्म यस्तो दुविधा रहिरने जिकिर गर्नुभयो । त्रिपाठीले प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवा भएको बताउनुभयो । उहाँले शासन प्रशासनको महत्वपूर्ण ऐन र निजामति कर्मचारी ऐन कहाँ अल्झिएको हो भन्ने कुरा अहिलेसम्म खोजी हुन नसकेको बताउनुभयो । निजामति कर्मचारी ऐन जारी नभएकाले सुशासन भन्दा पनि शासन गर्न समेत अफ्ठ्यारो भएको उहाँले बताउनुभयो ।
सांसद त्रिपाठीले सरकारले गरेको कर्मचारीहरुको तलबमा वृद्धिमा दुविधा देखिएको बताउनुभयो । उहाँले राजपत्र अनाधाकृत कर्मचारीहरु १५ प्रतिशत राजपत्राङ्कित कर्मचारीहरुलाई २४ देखि २६ प्रतिशत तलब वृद्धि हुने देखिएको बताउनुभयो । उहाँले तलब वृद्धिमा दुविधा रहेकाले नायब सुब्बाहरुले आन्दोलन गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सरकारले जहाँ गहिरो त्यही पानी, जसलाई कम चाहिने हो उसलाई बढी दिने र जसलाई बढी चाहिएको हो उसलाई कम दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्