१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्छ : सांसद भण्डारी


26
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निर्वाचन क्षेत्रहरुमा महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद राजभण्डारिले संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख गर्दै निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा जुन ठाउँमा बेसी छ, त्यो क्लस्टरको आधारमा सिट रिजर्भ हुनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो ।

उहाँले एकै जातीको एकाधिकार सबैतिर नहोस् भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्न र कानून निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले लामो समयसम्म संसदमा उपसभामुख खाली रहँदा र मन्त्रीपरिषद्मा एक तिहाई महिला सदस्यहरु नहुँदासमेत महिला सांसदहरुले केही नबोलेको उल्लेख गर्दै निर्वाचनको मुखमा आएर समानुपातिकको कुरा गरिरहेको बताउनुभयो ।

उहाँले सबै क्षेत्रमा र परिस्थितिमा महिलाहरुले समानता, कर्तव्य र अधिकारको बारेमा आवाज उठाउनु पर्ने बताउनुभयो । सांसद राजभण्डारीले संसदमा एकै परिवारका श्रीमान, श्रीमती नै सांसद रहेको भन्दै यसलाई समानुपातिक भन्न नसकिने बताउनुभयो ।

सांसद राजभण्डारीले अधिकारसँगै कर्तव्य र समानतासँगै सबै पक्षको कुराहरु समेटेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।