
काठमाडौं । नेपाल उद्योग परिसंघले कात्तिक तेस्रो साता सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ ।
परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी आगामी कात्तिक १७ देखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ गर्ने जानकारी गराएको हो ।
चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने परिसंघले जनाएको छ । परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुति समेत हुने बताउनुभयो ।
उहाँले मेलामा आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्र्पक तथा छलफल गर्न सकिने बताउनुभयो । अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थी, सेवा तथा उत्पादनमुलक उद्योग, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजार भन्द बढी व्यक्तिहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताउनुभयो ।
परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास व्यक्त गरेको छ ।
सरकार तथा अन्य सरोकारवालाहरुलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशत्ति, सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरुको समेत पहिचान हुने विश्वास परिसंघले लिएको छ । मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्