२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्री देउवा र अध्यक्ष भट्टराईबीच छलफल, समाजवादी पार्टीलाई गठबन्धनमा सामेल गराउन प्रधानमन्त्री सकारात्मक


273
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरूले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा सत्ता गठबन्धन, आगामी निर्वाचनमा चुनावी तालमेल, समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री देउवाले सो पार्टीलाई गठबन्धनमा सामेल गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र यस सम्बन्धमा गठबन्धनका अन्य घटकसँग पनि सल्लाह गर्ने बताउनुभएको केन्द्रीय सदस्य पाण्डेले बताउनुभयो ।

समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सत्ता गठबन्धन बनाउन आफूहरुको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकार्यका लागि इच्छुक रहेको बताउनुभएको थियो । भेटमा समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी हुनुहुन्थ्यो ।