२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘प्रचण्डको अभिव्यक्तिले नेपाल र नेपालीको शीर निहुँरियो’


1.001k
Shares

काठमाडौं । नेकपा (एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुँरिएको टिप्पणी गर्नुभएको छ ।

नेपालमा एक पटक पनि नआउनु भएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला दुई, तीन पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शीर निहुँर्‍याएको बताउनुभएको हो ।

बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्वप्रधानमन्त्री र सत्तारुढ दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआउनू भएका आबेबारे अति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गर्नु भयो ।

नेता भट्टराईले मूल्यवृद्धिले आहात भएका जनतालाई सुन्न र देख्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गर्नुभयो । दैनिक उपभोग्य खाद्यन्नको मूल्यवृद्धि एक वर्षमा सरकारले ११७ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।