
एजेन्सी । चीनले ताइवानसँगको शान्तिपूर्ण एकतामा जोड दिने बताएको छ ।
बुधबार बेइजिङको स्टेट काउन्सिलअन्तर्गतको ताइवान मामिला कार्यालय र सूचना कार्यालयले संयुक्त श्वेतपत्र जारी गर्दै चीनको पुनःएकीकरण प्रक्रिया कसैगरी नरोकिने जनाएको हो ।
पाँच खण्ड भएको श्वेतपत्रमा बेइजिङले ताइवान एकीकरण गरिछाड्ने दृढसंकल्प व्यक्त गरेको छ । तर, ताइवानप्रति धेरै हदसम्म मेलमिलापकारी भाषा श्वेतपत्रमा प्रयोग गरिएको छ । जसमा ताइवानसँग सम्बन्ध सुधार्न चीन इच्छुक रहेको उल्लेख छ ।
श्वेतपत्रमा एकीकरण भइसकेपछि पनि ताइवानमा अन्य मुलुकले आर्थिक र सांस्कृतिक सम्बन्ध विकास गर्नसक्ने उल्लेख छ । ती मुलुकले केन्द्र सरकारको अनुमतिमा ताइवानमा वाणिज्य दूतावासलगायत एजेन्सी राख्नसक्ने, अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नो कार्यालय खोल्न सक्ने जनाइएको छ ।
एकीकरणपछि पनि ताइवानले आफ्नो स्थान पाउने, ताइवानी जनताको अधिकार, हितको रक्षा र राष्ट्रिय उपलब्धिको फल दुवैतर्फका जनताले उत्तिकै मात्रामा प्राप्त गर्ने श्वेतपत्रमा उल्लेख छ ।
बेइजिङले १९९३ मा ताइवानबारे पहिलो श्वेतपत्र जारी गरेको थियो । त्यसअघि सन १९९२ मा दुई पक्षबीच एक मुलुक, दुई व्यवस्थाका विषयमा सहमति भएको थियो ।
पछिल्लो श्वेतपत्र अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण र त्यसको जवाफमा चिनियाँ सेनाले ताइवान घेरेर गरेको सातदिन लामो सैन्य अभ्यासपछि जारी गरिएको हो ।
श्वेतपत्रले अमेरिकाको केही शक्तिले ताइवानलाई चीनविरुद्ध गोटीका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । श्वेतपत्रले ताइवान सरकारलाई एक मुलुक, दुई व्यवस्थाकै मोडलअनुसार एकतामा आउन आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्