
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औं वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो ।
मन्त्री पौडेलले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने बताउनुभयो । उहाँले आंशिक, करार लगायतका प्राध्यापकहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो ।
एकपटकका लागि प्राध्यापकहरूको समस्या समाधान गरेर आगामी दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
शिक्षामन्त्री पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गर्नुभयो । शैक्षिक क्यालेन्डर अनुरूप समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने उहाँले बताउनुभयो ।
विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै उहाँले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्