१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले कर लगाउन खोजेपछि इलामका चिया व्यवसायी राजधानीमा


546
Shares

काठमाडौं । इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले भारतको राज्यसभा र लोकसभामा पेश भएको नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष माग गरेका हुन् ।

चियासँग सम्बन्धित अन्य समस्याहरुको दीर्घकालिन समाधान गर्न पनि उनीहरुले सरकारलाई आग्रह गरेका छन् । चिया व्यवसायीहरुले भारतीय बजारमा शतप्रतिशत छुट भई चिया निर्यात हुँदै आइरहेको भन्दै अहिले बिना कुनैपनि जानकारी भारतीय चिया निकायले बाणिज्य सन्धिविपरित नेपाली चियाको आयातलाई दुरुत्साहन गर्न खोजेको आरोप लगाएका छन् ।

विश्व बजारमा लोकप्रिय इलामका चियालाई गुणस्तरहिन चियाको संज्ञा दिई विभिन्न बहाना बनाउँदै करको दायरामा ल्याउने प्रस्ताव भारतको राज्यसभा र लोकसभामा पेश गरेको भन्दै व्यवसायीहरुले आपक्ति जनाएका हुन् ।

नेपाल सरकारको उच्च राजनीतिक संवादमार्फत कुटनीतिक पहल गरी समस्याको समाधान गर्नका लागि व्यवसायीहरुले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । चिया भारत निर्यात नभएमा १ सय ५० भन्दा बढी उद्योग बन्द हुने व्यवसायीहरुको चिन्ता छ । उनीहरुले राष्ट्रको ठुलो लगानी धरासायी हुने, चिया खेतीमा आश्रित २६ हजार कृषकहरु आयविहिन हुने, ८० हजार चिया मजदुर बेरोजगार हुने भयावह स्थितिको श्रृजना हुने पनि निश्कर्ष निकालेका छन् ।