२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा मनाइयो गाईजात्रा (तस्बिरहरु)


143
Shares

काठमाडौं । काठमाडौं उपत्यका एवं देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन सुरु गरिएको छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शुभारम्भ गरिँदै छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा शुक्रबारका दिन गाई वा मानिसलाई गाईका रुपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन, जनतालाई आ आफ्नो घरका मृत्युवरण गरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको इतिहास छ ।

नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले शुरु गरेको ठानिन्छ । यो पर्व मनाउने क्रममा गाई जात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरु बताउँछन् ।

भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिहरुको ताहासाँ प्रदर्शन गरिसकेपछि गाईजात्राको अन्तिम कार्यक्रम सकिन्छ । ८ दिनसम्म मनाइने यो पर्वमा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा भएपनि बिस्तारै त्यो लोप हुन थालेको छ ।

नेवार समुदायको बसोबास रहेका देशभरिका सबैजसो ठाउँमा गाईजात्रा मनाइने गरेको छ । काठमाडौं उपत्यकाकै विभिन्न शहरमा यो पर्व मनाउँदाका कतिपय फरक विशेषता छन् । जसमध्ये एउटा भक्तपुरको घिन्ताङ्घिसी नाच पनि हो ।