
काठमाडौं । आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरे पनि सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चुनौतीपूर्ण बनिरहेको छ ।
सिट बाँडफाटको लागि गठन गरिएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको विभिन्न खाका प्रस्तुत गरेको छ कार्यदलले प्रस्तुत गरेका खाका अनुसार गठबन्धनमा सिट बाँडफाँट भए नेपाली कांग्रेसका शीर्ष नेताहरूकै टिकट जोखिममा पर्ने देखिएको छ ।
दुई पटक बसेको कार्यदल बैठकमा सिट बाँडफाँटका विभिन्न विकल्पमा छलफल भएको छ । जसमध्ये एउटा विकल्प, २०७४ को निर्वाचनमा जितेको निर्वाचन क्षेत्रमा साविककै दललाई छोड्ने र एमालेले जितेका क्षेत्रलाई गठबन्धन दललाई बाँडफाँड गर्ने ।
यो खाकाले सर्वाधिक टाउको दुखाई नेपाली कांग्रेसलाई भएको छ । अघिल्लो निर्वाचनमा जितेको आधारमा क्षेत्र तयको एउटा विधि बनाउने हो भने कांग्रेसका दर्जन बढी शीर्ष तहका नेताहरू उम्मेदवारीबाट बाहिरिनुपर्ने निश्चित छ । यसरी गर्दा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नै तनहुँ १ बाट उम्मेद्वार हुन रोक लाग्नेछ ।
अघिल्लो निर्वाचनमा पौडेल वामगठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो । श्रेष्ठ हाल पाँच दलीय गठनन्धनको घटक नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुनुहुन्छ ।
गत निर्वाचनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ मा वामगठबन्धन तथा माओवादी केन्द्रका उम्मेद्वार राम कार्कीसँग पराजित हुनुभएको थियो । अहिले माओवादी केन्द्र कांग्रेससँगै सत्ताको सहयात्री छ । कार्यदलको कार्यविधिअनुसार उक्त स्थान माओवादी भागमा परे महामन्त्री शर्माले अर्को क्षेत्र रोज्नुपर्नेछ ।
सिन्धुपाल्चोक १ मा गत निर्वाचनमा वामगठबन्धनका साझा उम्मेद्वार अग्निप्रसाद सापकोटाले कांग्रेसका उम्मेद्वार मोहन बस्नेतलाई पराजित गर्नुभएको थियो । कार्यदलको कार्यादेशअनुसार सापकोटाले उम्मेदवारी पाउने अवस्था भए पनि कांग्रेस नेता बस्नेतले उम्मेदवारीबाट पछि नहट्ने घोषणा गरिसक्नुभएको छ ।
गत निर्वाचनमा डोटीमा कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई पराजित गर्नुभएका वामगठबन्धनका उम्मेद्वार प्रेम आलेले हाल नेकपा (एकीकृत समाजवादी)मा हुनुहुन्छ । कार्यदलको खाकाअनुसार कांग्रेस सुदुरपश्चिमका सभापति समेत रहनुभएका बलायरले उम्मेदवार बन्न पाउनुहुने छैन ।
मकवानपुर–२ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायलाई एकीकृत समाजवादीका विरोध खतिवडाको कारण उम्मेदवार पाउन कठिनाइ हुने देखिन्छ । अघिल्लो निर्वाचनमा उपाध्याय खतिवडासँग पराजित हुनुभएको थियो ।
नुवाकोट–१ मा गठबन्धनको तर्फबाट सिट बाँडफाँट गर्दा पूर्वअर्थमन्त्री डा.रामशरण महतले उम्मेद्वार बन्नबाट हात धुनुपर्ने अवस्था आउनसक्छ । अघिल्लो निर्वाचनमा यो क्षेत्र माओवादीले जितेकाले आगामी निर्वाचनमा पनि उसकै दाबी रहनसक्छ ।
गत निर्वाचनमा विजयी भएको आधारमा सिट भागबण्डा गर्ने सहमति बन्यो भने कांग्रेसका बौद्धिक नेता महेश आचार्य पनि उम्मेदवारीबाट बञ्चित हुनुपर्ने देखिन्छ । गत निर्वाचनमा वामगठबन्धनका उम्मेद्वार अमनलाल मोदीले नेता आचार्यलाई पराजित गर्नुभएको थियो ।
कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बुबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने÷नपाउनेमा आशंका छ । गत निर्वाचनमा माओवादी केन्द्रबाट हेमराज राईसँग पराजित हुनुभएको केसीले माओवादीकै उम्मेदवार दोहोरिने अवस्था बन्यो भने बाहिरिनुपर्ने हुन्छ ।
बर्दिया २ मा अघिल्लोपटक माओवादीले जितेकाले उक्त दलले यसपटक पनि दावी गरे कांग्रेस सहमहामन्त्री किशोर सिंह राठोर उम्मेदवारबाट बञ्चित हुनपर्नेछ । ललितपुर ३, कपिलवस्तु १, गोरखा २, प्युठान लगायतका क्षेत्रमा पनि गठबन्धनकै कारण कांग्रेसका प्रभावशाली नेताहरूले टिकट नपाउने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्