
काठमाडौं । बिनु यादवले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी कर्मचारीले जबरजस्ती करणी उद्योगका आरोपी पवन कठायतलाइ पक्राउ नगरी उजुरी दर्ता भएको फोनबाट सूचना दिएर भगाएको आरोप लगाएकी छिन् ।
आफ्नै श्रीमान प्रदीप कठायतबाट पटक–पटक यौन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनुले काका ससुरा पवन कठायतविरुद्ध रामेछाप प्रहरीमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी दर्ता गरेकी थिईन् ।गत साउन १५ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा बिनुले आफ्नो काका ससुरा पवन बिरुद्ध जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता गराएकी हुन् ।
उजुरी दर्ता भएको २ हप्ता बिति सक्दापनि आरोपी पवनलाई प्रहरीले पक्राउ भने गरेको छैन । पवन खुले आम घुमी रहदा पनि प्रहरीले पक्राउ नगर्नुले प्रहरी कर्मचारीलेनै पवनलाइ संरक्षण दिदै आइरहेको हुनसक्ने आशंका स्थानीयहरुले गरेका छन् ।
पवनको मोवाइल फोन चालू अवस्थामा रहँदा पनि फरार भनिएका उनलाई यत्रो दिनसम्म पक्राउ नगर्नुले प्रहरी कर्मचारी नै उनको बचाउ गर्न लागि परेको पीडित बिनुको भनाइ छ ।
शान्ती सुरक्षा र अन्यायमा परेकालाई न्याय दिने प्रहरीबाटै उल्टो पीडित र अन्यायमा परेकालाई झन् पीडा हुने काम हुन थाल्यो भने न्यायको लागि हरेक पीडितले आत्मदाहको बाटो रोज्न बाध्य हुने अवस्था आउन सक्ने बिनु बताउँछिन् ।
अदालतबाट न्याय नपाउदा अदालतको इजलाशमा बिष खाएर आत्महत्याको प्रयास गरेकी बिनुले प्रहरीबाट झन् पीडित बनाउने काम भैरहेको बताईन् । ।
भोलि प्रहरी प्रधान कार्यालयको मूल ढोकामा आफूले पनि आत्मदाह गर्न बाध्य हुनुपर्ने अवस्था नआउला भन्न नसक्ने पीडित यादबको भनाइ छ ।
उता जिल्ला प्रहरी कार्यालयका रामेछापका प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजकुमार थिङ्ग भने फरार अभियुक्त पवनको खोजीमा आफूहरु लागि रहेको र चाडो भन्दा चाडो पक्राउ पर्ने दाबी गर्नुहुन्छ । बिनुलाई पवनले २०७९ बैशाख ७ गते जवर्जस्ती करणी गर्न प्रयास गरेका थिए। बिनु आफ्नै श्रीमान प्रदीप कठायतबाट पीडित महिला हुन् । पवन र प्रदीपलाई जोगाउँन प्रदीपका मामा पर्ने प्रहरी नायव उपरीक्षक सुरज कार्कीको मुख्य भूमिका रहेको बिनुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्