१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


संघ र प्रदेशको निर्वाचनमा टिकट नपाउने त्रासमा कांग्रेस संस्थापन इतर समुह


1.027k
Shares

कांग्रेसभित्र महाधिवेशनको ४० प्रतिशत भोटको धङधङे, आफ्नै पक्षको चक्रव्यूहमा कोइराला, पौडेल र सिटौला रिझाउने देउवाको रणनीति

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै चुनावको संघारमा डा. शेखर कोइराला नेतृत्वको इतर समुह प्रतिवादमा उत्रिने रणनीतिमा छ । आगामी चुनावमा टिकट सुनिश्चितको लागि अपनाइएको नेतृत्व विरुद्धको रणनीति परिणाममुखी बनाउन इतर समुहले गुटगत भेलालाई तीब्रता दिएको छ ।

इतर समुहको नेतृत्व गरिरहनुभएका डा. कोइरालाले आफू निकट पार्टी पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरुसँग अनौपचारिक छलफल अघि बढाइरहनु भएको छ । सभापति देउवाले निर्वाचनपछि फेरि प्रधानमन्त्री बन्ने स्वार्थबाट टिकट वितरणमा एकलौटी गर्न सक्ने इतर समुह सदस्य त्रस्त छन् । डा. कोइरालाले पदाधिकारीसँग छलफल गरिरहँदा इतर समुहका दोस्रो तहका नेताहरुले पनि छुट्टै भेला गरे । इतर समूहले आइतबार पनि छलफललाई निरन्तरता दियो । भेलाले पार्टीमा अस्तित्वको खोजी र ४० प्रतिशत हिस्साको लागि नेतृत्वविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको छ ।

शनिबार एउटै समयमा भएका छुट्टाछुट्टै छलफल र आइतबार भएको छलफलको साझा निष्कर्ष हो– आफ्नो समुहलाई उचित हिस्सा नदिए प्रतिवाद गर्ने । महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा मनोनयन, पाँच वटा भ्रातृ संस्थाको नेतृत्व चयन, गत पुसमा भएको राष्ट्रियसभा सदस्य निर्वाचन, मन्त्री नियुक्त र स्थानीय तह निर्वाचनको टिकट वितरणमा देउवाले एकलौटी निर्णय गरेकोले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा टिकट नपाउने त्रास इतर समुहमा देखिन्छ ।

देउवाको निरन्तर एकलौटीले निर्वाचनको संघारमा थप झस्किएका इतर समूहका नेता तथा कार्यकर्ता आफ्नो हिस्सा सुरक्षित गर्न अहिलेदेखि नै नेतृत्वमाथि तीब्र दवाब दिने रणनीतिमा छन् ।

केन्द्रीय समितिमा मनोनित सभापति देउवाले अधिकांश आफूपक्षीय, त्यसपछि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई महत्व दिनुभएको थियो । जति दवाब दिएपनि अहिलेसम्म गरेका निर्णयमा इतर समूहका कोही पनि सभापति देउवाको प्राथमिकतामा पर्न सकेका छैनन् । इतर समूहले पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटबारे पनि चासो देखाएको छ । गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलमा गृहकार्य चलिरहेका बेला इतर समूहले पार्टीको जनाधार र कार्यकर्ताको भावनाअनुसार ६० प्रतिशत सिट लिन नेतृत्वलाई सुझाव दिएको छ ।

कांग्रेसभित्र गुटउपगुट र भागबण्डाको झगडा नयाँ होइन् । चुनावको संघारमा झन् तिव्र हुने गरेको आन्तरिक झगडाको परम्परा कांग्रेसमा फेरि पुनरावृत्ति भएको छ । यसले अनन्त कालसम्म जरा गाड्ने निश्चित छ ।