१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिन्धुलीमा ३७ वटा सिंचाई आयोजना सम्पन्न


26
Shares

सिन्धुली । सिन्धुलीमा गत आर्थिक वर्षमा ३७ वटा साना सिंचाई आयोजनाकाे निर्माण कार्य सम्पन्न भएका छन् ।

सिन्धुली जिल्लाको कमलाखोच, मरिण चदाहा र सुनकोशी क्षेत्रमा ती सिंचाई आयोजना निर्माण सम्पन्न भएका हुन् । जिल्ला सदरमुकाम सिन्धुलीमाडीस्थित कृषि ज्ञान केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम अन्तर्गत २८ लाख ८० हजार रुपैयाँको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती आयोजना सम्पन्न भएकाे कार्यालय प्रमुख सुजन अंगाईले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा सम्पन्न आयोजनाबाट ३ सय रोपनी खेती योग्य जमिनमा सिंचाई सुविधा पुगेको छ। साथै एउटा आयोजनालाई कम्तिमा ६० हजार रुपैयाँदेखि बढीमा १ लाख ५० हजार रुपैयाँसम्म अनुदान दिईएको छ । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर, मरिण, हरिहरपुरगढी, सुनकोशी , फिक्कल र तीनपाटन गाउँपालिकामा साना सिंचाइ आयोजना सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

साना सिंचाई आयोजना अन्तर्गत आवश्यक प्लास्टिक पाइप खरिद, पोखरी निर्माण, मोटर खरिद र इनार निर्माण लगायतका काम भएको हो । सुनकोशी गाउँपालिका–७ नागीका किसान बद्रि आलेले साना सिंचाई कार्यक्रम अन्तर्गत सुनकोशी गाउँपालिकाका विभिन्न स्थानमा पाइप खरिद, इन्टेक र पानी संकलनका लागि पोखरी निर्माण भएको बताउनुभएकाे छ ।

ठूला सिंचाई आयोजनाले समेट्न नसकेको सिनधुली जिल्लाका विभिन्न स्थानमा वर्षेनी साना सिंचाई आयोजना निर्माण गरी जमिनलाई सिंचाई सुविधा उपलब्ध गराउन सहयोग पुगेको छ ।