
ओखलढुंगा । कोरोना भाइरस र भाइरल ज्वरोसँग सम्बन्धित लक्षण देखिएपछि ओखलढुंगाको लिखु गाउँपालिकाका सबै विद्यालय ४ दिनका लागि बन्द गरिएको छ ।
गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक र एउटा संस्थागत विद्यालय बन्द गरिएको हो । गाउँपालिकाका अधिकांश शिक्षक र विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने र जिउ दुख्ने लगायतका लक्षण देखिएपछि थप संक्रमण नहोस् भनेर गाउँपालिकाले साेमबारदेखि भदौ २ गतेसम्मका लागि विद्यालय बन्द गरेको लिखु गाउँपालिकाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।
केही दिनयता समुदायस्तरमा देखिएको बिरामी हुने समस्या विद्यार्थीमा समेत देखा परेको थियो । यस्ता लक्षण लिखु गाउँपालिकाको यसम, टारकेराबारी र पोकलीका क्षेत्रमा बढी देखिएको छ । बिरामी बढेपछि लिखु गाउँपालिकाले आइतबार र सोमबार टारकेराबारी क्षेत्रका स्थानीयबासीकाे कोरोना परीक्षण गरेको छ ।
जसमा शिक्षक र विद्यार्थीमा समेत कोरोना भाइरस पुष्टि भएको छ । लिखु गाउँपालिकाभित्र रहेका विद्यालयमा ३ हजार ८२ विद्यार्थी अध्यनरत रहेको लिखु गाउँपालिकाकी शिक्षा शाखा अधिकृत रचना मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्