
काठमाडौं । सोमबार उच्च अंकको सुधार आएको शेयर बजारमा मंगलबार फेरि दोहोरो अंकको करेक्सन आयो । उतार चढावबीच बजार परिसूचक नेप्से २५ अंक बराबरले झरेर २ हजार ४१ मा आएर थामियो ।
कारोबार भने सुधारिएर पौने ३ अर्ब हाराहारी पुग्यो । सोमबार सबै समूहमा हरियाली छाएकोमा मंगलबार सबै समूह राताम्मे रहे । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च डेढ सय अंक बराबरको गिरावट आयो । विकास बैंक समूह पनि सय अंक बढीले झर्दा अरु पनि अधिकांश समूह उच्च दोहोरो अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २१ कम्पनीको ६४ लाख कित्ता शेयर २ अर्ब ७४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । सोमबार अधिकांश कम्पनीको मूल्य बढ्दा मंगलबार १ सय ६९ कम्पनीको मूल्य घट्दा जम्मा १२ को बढ्यो ।
घटेको बजारमा पनि अपर हेवा खोला हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्