२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जित सुनिश्चित गर्न माओवादीको चुनाव चिन्ह रोजेँ : वामदेव गौतम


2.041k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताउनुभएको छ ।

मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताउनुभयो ।

सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भुमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने बताउनुभयो । उहाँले नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताउनुभयो ।

हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेको दाबी गर्नुभयो । उहाँले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गर्नुभयो । उहाँले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गर्नुभयो ।

निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गर्नुभयो । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताउनुभएको थियो ।

राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहनुभएका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताउनुभयो ।

मंगलबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चनाव चिन्ह दिने सहमति गरेको थियो ।