२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत समाजवादीसँग पनि पार्टी एकताको तयारी भइरहेको छ : अध्यक्ष दाहाल


546
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताउनुभएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले संचारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो ।

चुनावपछि पार्टी एकतानै हुने गरी सो समिति छिट्टै बनाउने सहमती माधव नेपालसँग भएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरुबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले बाबुराम भट्टराईसँग पनि चुनाव पछाडि एउटै केन्द्र बनाएर जाने विषयमा सहमति गरिएको बताउनु भयो । बामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउ उभिने कुराको ठूलो अर्थ र महत्व रहेको भन्दै उहाँले आफूहरुबीचको सो सहमतिलाई कसैले रोकेर रोक्न नसक्ने दावी गर्नुभयो ।

अध्यक्ष दाहालले बाबुराम भट्टराईहरु पनि सत्तारुढ गठबन्धनमै रहेकाले त्यसमा आवद्ध दलहरुसँगको सहमतीमै उनीहरुको पनि सिट संख्या निर्धारण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।