२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै


65
Shares

बैतडी । सुदूरपश्चिममा आज बुधबार हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । हरेक वर्ष भदौ १ गते ओल्के पर्व मनाउने गरिन्छ ।

ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको कलिलो पात, फलफुल आदि दिने, मीठो–मसिनो खाने र हातमा मेहेन्दी लगाउने यस पर्वका विशेषता हुन् ।

यस पर्वमा बिहानै नुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार र फलफूल आफन्तजनलाई उपहार दिने पनि चलन छ । गाउँ नजिकका अलिक अग्लो डाँडाको टाकुरामा गई रूखका हाँगा बिँगा तथा अन्य बोटबिरुवा काटेर थुप्रो लगाउने चलन समेत रहेको छ ।

लामो वर्षायामको संकटबाट बाँचेर नयाँ जीवन प्राप्त गरेको खुसियालीमा सुदूरपश्चिममा ओल्के पर्व मनाउने चलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो ।

सुदूरपश्चिममा आजको दिनलाई ओल्के संक्रान्ति पनि भन्ने गरिन्छ । सुदूरपश्चिम प्रदेश सरकारले यस पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।