
काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टीका भ्रातृ संस्थाहरुलाई पूर्णता दिन माग गरेको छ ।
बुधबार काठमाडौंमा खबरदारी सभाको आयोजना गर्दै कोइराला समुहका तरुण, विद्यार्थी, महिलालगायत भ्रातृ संस्थाका नेताहरुले पार्टी नेतृत्वले भ्रातृ संस्थामा एकलौटी गर्दा पार्टी र संगठनलाई क्षति पुगेको गुनासो गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीलाई चलायमान राख्न भ्रातृ संस्थाहरुलाई पूर्णता दिन आवश्यक हुने बताउनुभयो । अहिलेसम्म गठन भएका भ्रातृ संस्थामा समेत सभापति शेरबहादुर देउवाले एकलौटी पदाधिकारी नियुक्त गरेकोमा कोइराला समुहले विरोध गर्दै आएको छ ।
१३ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएपछि अधिकांश भ्रातृ संस्थाको अधिवेशन हुन सकेको छैन । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, किसान संघलगायत दर्जनौं भ्रातृ संस्थाका पदाधिकारीले पार्टीको नेतृत्वको असहयोगकै कारण महाधिवेशन समेत गर्न नसकेर पदमुक्त भएका छन् ।
१४ औँ महाधिवेशनपछि सभापति देउवाले हालसम्म छ वटा भ्रातृ संस्थामा अध्यक्षमात्रै नियुक्त गर्नुभएको छ । कोइराला समूहले बाँकी रहेका भ्रातृ संस्थाको नेतृत्व आफूहरुले पाउनुपर्ने माग गरेको छ भने अध्यक्ष नियुक्त भइसकेका भ्रातृ संस्थामा सबै पक्षलाई समेटेर पदाधिकारी नियुक्त गर्नुपर्ने माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्