
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ ।
बिहीबार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न आग्रह गर्नुभएको हो ।
उहाँले महिला उद्यमशीलता प्रवद्र्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भुमिका निर्वाह गर्न जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले यस्ता मेलाहरुले व्यवसायिक सञ्जाललाई बिस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी बिस्तार गर्नमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गर्नुभयो ।
उहाँले अर्थतन्त्रका समस्या र चुनौतिको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो । उहाँले व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकतामा राखि समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
भदौ ६ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरुको सहभागिता रहने छ । नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्य महासंघले राखेको छ ।
मेलामा हस्तकलाका सामानहरु, खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्