१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शहरी विकास मन्त्रालयका इन्जिनियरहरू आन्दोलित


2.457k
Shares

काठमाडौं । शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समुहका कर्मचारीले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् ।

बिहीबार मन्त्रालयमा इन्जिनियरिङ समुह अन्तर्गतका सिभिल समुह, बिल्डिङ एण्ड आर्किटेक्ट उप–समुहका कर्मचारीले सांकेतिक रुपमा आन्दोलन गरेका हुन् ।

कर्मचारीले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा शहरी विकास मन्त्रालयमा ल्याउने र शहरी विभागको कार्यक्षेत्र ओगट्ने गरी निर्णय भएको भन्दै आन्दोलनमा आएका छन् ।

आन्दोलनमा संयोजक तथा शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल सच्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शहरी विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताउनुभयो । उहाँले सरकारले इन्जिनियरको माग तत्काल सुनुवाइ नगरे देशभरको शहरी विभागको काम ठप्प पार्ने तथा प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी दिनुभयो ।

कर्मचारीहरुले कालो ब्यानरसहित हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरु गरेपनि प्रहरीले कालो ब्यानर र पट्टी भने बाँध्न दिएनन् । आन्दोलनमा नेपाल ईन्जिनियरिङ सेवा, सिभिल समुह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह अन्तर्गतका सम्पूर्ण प्राविधिकहरु रहेका थिए ।

प्राविधिकको आन्दोलनमा निजामति कर्मचारीको आधिकारीक टे«ड युनियन, नेपाल निजामति कर्मचारी संगठन, निजामति कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन शहरी विकास विभागीय कार्य समितिहरुको ऐक्यवद्धता रहेको छ ।