२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नाली व्यवस्थापनमा ठेकेदारले ध्यान नदिँदा बस्ती डुबानमा


91
Shares

कैलाली । कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम प्रभावकारी नहुँदा स्थानीयलाई सास्ती भएको छ । ठेकेदार कम्पनीले बनाउँदै गरेका नाली व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको छ भने पानीको उचित निकास नहुँदा डुबानको समस्या पनि देखिएको छ ।

आयोजना कार्यान्वयन गर्ने क्षेत्रीय सहरी विकास आयोजना इकाई, धनगढीले २४ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असारमा कालिका कन्ट्रक्सनसँग १० किलोमिटरका ७ वटा सडक कालोपत्रेको ठेक्का सम्झौता गरेको थियो । आयोजना सम्पन गनुपर्ने समय गत साउन महिना भए पनि अहिलेसम्म आयोजनाको ५० प्रतिशत काम मात्रै पुरा भएको छ । समयमा आयोजना सम्पन्न नहँुदा मुख्य सडक र सहायक सडकमा निर्माणधिन अवस्थामा रहेका नालीका कारण जोखिम भएको स्थानीयले गुनासो गरेका छन् ।

धनगढीका सडकहरुको समस्या समाधान गर्ने धनगढी उपमहानगरपालिकाका नव निर्वाचित मेयर गोपाल हमालले निर्णय गरेपनि कार्यान्वन हुन सकेको छ्रैन् । निर्माण भइरहेका सडकमा विद्युत, टेलिफोनका पोल र खानेपानीको पाइप व्यवस्थापन तथा विद्युत कटौती सम्बन्धी समस्या भएपनि सरोकारवाला निकायको त्यसतर्फ ध्यान नगएको जनप्रतिनिधीले नै गुनासो गरेका छन् । धनगढी उपमहानगरपालिका– ५ का अध्यक्ष गजेन्द्र शाहीले क्षेत्रीय सहरी विकास आयोजना अन्तरगर्त निर्माण भइरहेको डिभोटी पिपल चौतारा सडकमा सवैभन्दा बढी जोखिम रहेको बताउनुभयो । समस्या समाधानका लागि सम्बन्धित निकायमा धाउँदा समेत कसैले वास्ता नगरेको उहाँले बताउनुभयो ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले भने विभिन्न कारण देखाउँदै समयमा आयोजना सम्पन गर्न नसकिएको जनाएको छ । कार्यालयले कोरोना महामारी र स्थानीय तहको निर्वाचन लगायतका कारण ढिलाइ भएको बताएका छन् । निर्माणाधीन नालीहरु छोप्ने काम भइरहेको र सडकमा पानी नजम्ने गरी खाल्डाखुल्डी व्यवस्थापन, मानव तथा पशु दुर्घटना नहुने गरी सडक व्यवस्थापन पनि भइरहेको कार्यालयले जनाएको छ ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले पहिलो चरणमा १० किलोमिटर लम्बाईका ७ वटा सडक ६८ करोड ५ लाख ९८ हजार रुपैयाँको लगानीमा निर्माण गरिरहेको छ ।