६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गुठी व्यवस्थापनको दायित्व लिएको संस्था नै गुठीको अवस्थाबारे बेखबर

सरकारी स्वामित्वमा रहेका ३० प्रतिशत जग्गामा गुठीको स्वामित्व

91
Shares

काठमाडौं । देशभरका गुठीहरुको संरक्षणका लागि स्थापना गरिएको गुठी संस्थान नै गुठीको संरक्षण गर्न नसकेको पाइएको छ।

जात्रा, पर्व, पुजा र धारा पौवालगायतका सम्पदाको केही व्यवस्था गरेपनि जग्गा जमिनको विषयमा गुठी संस्थानले उल्लेखनीय काम गर्न सकेको छैन् । अरु त अरु गुठीको एकिन जग्गा कति छ भन्ने विषयमा स्वयम संस्थान नै बेखबर छ ।

देशका ६९ जिल्लामा गुठीको जग्गा छ । राज्यका नाममा रहेका ३० प्रतिशत जमिनमा गुठीको प्राधिकार रहेको छ । यस आधारमा देशभर करिब १४ लाख रोपनी जग्गा गुठीको नाममा छ । त्यस्तै जग्गा अतिक्रमणको तथ्याङ्क गुठी संस्थानसँग छैन् । हरेक जिल्लामा गुठीको जग्गा असुरक्षित छ ।

प्रयाजसो विभिन्न बाहानामा सरकारी निकायबाट जग्गा अतिक्रमण हुने गरेको छ । अभिलेखमा सीमित गुठीको हजारौं रोपनी जग्गा संस्थानले अझै आफ्नो मातहतमा ल्याउन सकेको छैन् । यद्यपि प्रयासमा लागेको नेपाल गुठी संस्थानका अध्यक्ष पूर्णप्रसाद भुसालको भनाइ छ ।

गुठी सम्बन्धी छैटौँ विनिमय खारेज भएपछि गुठीमा ३० प्रतिशत कर्मचारीले काम गर्नु परेको छ । यसले पनि समस्या भएको संस्थानको गुनासो छ । त्यस्तै, गुठीका जग्गा अतिक्रमणका साथै खेतीबाली ठेक्का नलाग्ने, लागे पनि ठेक्का रकम नतिर्ने, गुठी रैतान नम्बरीमा परिणत जग्गाबाट प्राप्त रकमको बैंक लगानी ब्याजदर अस्थिर भई रहने आदि समस्याले वार्षिक आम्दानी हुने रकमबाट खर्च धान्न मुस्किल छ ।

गुठी संस्थानलाई नेपाल सरकारका सरकारी कार्यालयलगायत अन्य प्रयोजनका लागि प्रयोग भएको जग्गाको मुआब्जा बापतको रकम करिब १७ अर्ब रुपैयाँ प्राप्त भएको छैन्। गत एक वर्षमा गुठी संस्थानले करिब ६२ करोड आम्दानी गरेको थियो । तर त्यो रकमबाट पर्व, पूजा, जात्रा, यात्राका साथै देवस्थलका महन्त, पूजारी, कामदार कर्मचारीको खर्चको भुक्तानी दिन समस्या भएको संस्थानले जनाएको छ ।

२०२१ सालमा स्थापना भएको गुठी संस्थान भर्खरै डिजिटल प्रविधिमा प्रवेश गरेको छ । निजी गुठीबाहेक देशभर २ हजार ४३ वटा गुठी छन् । आफ्नो सम्पत्ति, आम्दानी, खर्च लगायतका कुनै पनि विषयका एकिन विवरण नभएको गुठी संस्थानको आन्तरिक व्यवस्थापन कमजोर देखिन्छ । गुठी जोगाउन गुठी संस्थानको मात्र नभई सबैको दायित्व हो ।

तर गुठी संरक्षणकै लागि बनेको संस्थानले जिम्मेवारी लिएर काम गर्नुपर्ने देखिन्छ ।