१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा कम उमेरमै गर्भपतन गर्ने बढे


767
Shares

सिन्धुली । पछिल्लो समयमा सिन्धुलीमा बिबाहको उमेर भन्दा कम उमेरमा गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको देखिएको छ ।

सामान्यतया कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि विगत चार वर्षको तथ्यांक हेर्दा सिन्धुली जिल्लामा सुरक्षित गर्भपतन गर्ने २० वर्ष मुनिका किशोरीको संख्यामा एक्कासी वृद्धि भएको पाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजेन्द्र पोखरेलका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ सय ३ जनाले गर्भपतन गराएकोमा ३२ जना २० वर्ष मुनिका किशोरीहरू रहेका थिए ।

यसैगरी विगत आ.व.२०७७/०७८ मा २ सय ६६ जनाले गर्भपतन गराएकोमा २२ किशोरी रहेको देखिएको छ । गत आ.व. २०७८/०७९ मा ३ सय २१ जनाले गर्भपतन गराएकोमा ८७ किशोरी रहेका छन् ।

परिवार नियोजनका साधनको उपलब्धता हुदँहुदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गर्दा यस प्रकारको समस्या देखिएको छ ।

परिवार नियोजनका साधनप्रतिको बेवास्ताका कारण पनि गर्भपतन गराउनेको सख्या बढेको देखिएको छ भने असुरक्षित तवरले गरिएको गर्भपतनमा विभिन्न कारणले गर्भ नरहने तथा संक्रमणका कारण गर्भ तुहिने सम्भावना उच्च रहने चिकित्सकको भनाई रहेको छ ।