१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति र संसदबीचको टकराव हुनु ठिक होइन: मन्त्री कार्की


1.313k
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी र संसदबीचमा टकराव हुनु ठिक नभएकाे बताउनुभएकाे छ ।

शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले संसदले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक फिर्ता आएपनि पुनः पठाउने बताउनुभयो ।

उहाँले यस पटक भने नागरिका विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताउनुभयो । मन्त्री कार्कीले यो टकरावको बेला नभएकोले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपतिलाई फेरी विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको बताउनुभयाे । तर राष्ट्रपति संस्थाबाट गल्ति नहुनेमा सरकार विश्वस्त रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता विधेयकलाई संसदकाे दुवै सदनबाट पारित गराएर राष्ट्रपति कहाँ प्रमाणिकरणका लागि पठाइएको थियो । तर अहिले राष्ट्रपति जीले केही सुझावसहित त्यो विधेयकलाई फिर्ता गर्नुभएको छ । त्यो विधेयकलाई फेरि प्रतिनिधि सभाले अगाडि जसरी पारित गरेको थियो, त्यसरी नै पारित गरेको छ । अब राष्ट्रिय सभामा पारित हुनेछ । कतिपय पत्र पत्रिकामा मैले देख्ने गर्छु । कतिपय ठाउँहरुमा मैले टिप्पणी भएको सुन्ने गरेको छु । अब संसद र राष्ट्रपतिकोबीच टकराव आयो । यो टकरावको बेला होइन । हामीले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर लिएर जानुपर्ने अहिलेको हाम्रो मुलुकको जिम्मवारी हो । त्यो जिम्मेवारी पूरा गर्नका निमित्त संविधानले जुन परिकल्पना गरेको छ । राष्ट्रपतिलाई फेरी विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार छ, त्यसैले भन्ने गरिन्छ राष्ट्रपति संस्थाबाट गल्ति हुँदैन । अब चाँडै नै राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकताबिहीनको समस्या अन्त्य हुनेछ ।’

मन्त्री कार्कीले चाँडै नै राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकताबिहीनको समस्या अन्त्य हुने बताउनुभयो ।