७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीमा एक्ला एक्लै लडे एमालेलाई फाइदा, नत्र गठबन्धन


4.745k
Shares

सिन्धुली । सिन्धुलीमा आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धन नभएर ठूला दलहरु नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्र एक्ला एक्लै लडे गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले एमालेलाई अगाडि देखाएको छ ।

२०७४ को निर्वाचन अघि तीनवटा संसदीय निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा २०७४ देखि दुईवटा निर्वाचन क्षेत्रमा खुम्च्याइएको छ । सिन्धुलीलाई नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी यी तीनैवटा पार्टीको प्रभाव क्षेत्र मानिन्छ ।

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निवाचनको मत परिणामलाई हेर्दा सिन्धुली जिल्लामा प्रदेश र संघकाे निर्वाचन पनि नेकपा एमालेको मत बढी आउने देखिएको छ ।तर गत स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा दुबै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेश सभामा कांग्रेस र माओवादी भन्दा एमालेलाई अघि देखाएको छ ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको एक तथ्यांकले यस्ताे नतिजा देखाएको हाे । २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सिन्धुलीमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । स्थानीय तहको निर्वाचनमा सिन्धुलीका २ वटा क्षेत्रमा पर्ने सबै वडाहरूमा आएको मतको विश्लेषण गर्दा नेकपा एमाले एक्लै दुवै स्थानमा झिनो मतले बलियो देखिएको छ । एमालेले क्षेत्र १ मा कांग्रेसलाई र क्षेत्र नम्बर– २ मा माओवादीलाई पछि पारेको थियाे ।

क्षेत्र नम्बर– १ मा वडागत मतलाई आधार मान्ने हो भने एमाले झण्डै तीन हजार मतले कांग्रेस भन्दा अघि रहेको छ ।यो निर्वाचन क्षेत्रमा जम्मा ४१ वटा वडा पर्छन् । गत स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षहरूले ३० हजार ३३ मत पाउँदा कांग्रेसका वडा अध्यक्षहरूले २७ हजार ६ सय ८२ मत ल्याएका छन् ।

नेकपा माओवादीका उम्मेदवारहरूले यी वडामा १३ हजार ३ सय ६९ मत पाएका छन् । यो क्षेत्रमा कमलामाई नगरपालिकाको वडा नं ९,१३,१४ र दुधौली नगरपालिका, गोलन्जोर, फिक्कल र तिनपाटन पर्छन् । गत वैशाख ३० गते यस क्षेत्रका १४ वटा वडामा कांग्रेस र एमालेको साझा उम्मेदवारले चुनाव लडेका थिए यहाँ कांग्रेस र माओवादीका वडा अध्यक्षहरुले पाएको मतलाई जोड्दा ४१ हजार ५१ मत हुन आउँछ । अहिले कांग्रेस र माओवादी केन्द्र सत्ता गठबन्धनमा रहेका छन् । यदि यी दुबै दलले गठबन्धन गरे भने एमाले ११ हजार १८ मतले पछि पर्नेछ र गठबन्धनका उम्मेदवारले जित्न सक्नेछन् । नत्र एक्ला एक्लै लडे एमालेले जित्न सक्नेछ ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीले वाम गठबन्धन मार्फत उम्मेदवार खडा गरेका थिए । जसमा यो क्षेत्र नेकपा एमालेको भागमा परेको थियो । यो क्षेत्रमा २०७४ मा नेकपा एमालेका गणेश पहाडी विजयी हुनुभएको थियो । उहाँले ३२ हजार ५ सय २९ मत पाउनुभएको थियो । पहाडीले कांग्रेसका प्रेमचन्द्र दाहाललाई हराउनु भएको थियो । पहाडीले १० हजार बढि मतले दाहालसँग विजयी हासिल गर्नुभएको थियो ।

क्षेत्र नम्बर– २ मा भने एमाले मतको आधारमा माओवादी केन्द्रभन्दा अगाडि देखिएको छ । यहाँ गत स्थानीय तह निर्वाचनका आधारमा एमाले पहिलो,माओवादी दोस्रो र कांग्रेसले तेस्रो स्थान हासिल गरेका छन् ।यस क्षेत्रमा कमलामाई नगरपालिकाको १ देखि ८ र १० देखि १२ सम्मका वडा, सुनकोशी, हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाको वडाहरु पर्छन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले यो क्षेत्रमा पर्ने वडाहरूमा २१ हजार ४ सय ५५ मत पाएको थियाे । माओवादीले १९ हजार ४ सय ८८ मत पाएको थियाे । त्यस्तै, यो क्षेत्रमा कांग्रेसले भने १९ हजार २९ मत पाएको थियाे ।

यहाँ कांग्रेस र माओवादीका वडा अध्यक्षहरुले पाएको मत जोड्दा ३८ हजार ५१७ मत हुन्छ । यो मत एमालेले पाएको भन्दा १७ हजार ६२ मत बढी हो ।

२०७४ को चुनावमा यो क्षेत्र बाम गठबन्धन गर्दा माओवादीको भागमा परेको थियो । त्यतिबेला यो क्षेत्रमा माओवादीका हरिबोल गजुरेलले कांग्रेसका नरेन्द्रजंग थापालाई पराजित गर्नुभएको थियो । गजुरेलले ३० हजार १ सय ७९ मत ल्याउँदा थापाले १८ हजार १ सय २७ मत ल्याउनुभएको थियो ।

२०७४ को चुनावमा दुवै क्षेत्रबाट बाम गठबन्धन उम्मेदवार विजयी भएका थिए । त्यसैगरि प्रदेशका ४ वटा क्षेत्रमा बाम गठबन्धन विजयी भएको थियो ।

प्रदेशसभा अन्तर्गत क्षेत्र नम्बर १ को (क) मा माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) ले १६ हजार ५२४ मत ल्याएर विजयी हुँदा कांग्रेसका गंगा गिरी ११ हजार ८ मत ल्याएर दाहालसँग पराजित हुनुभएको थियो । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (ख) मा नेकपा एमालेका प्रदीप कटुवाल १६ हजार ६१२ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका श्याम घिमिरेलाई ११ हजार ९५५ मत प्राप्त भएको थियो ।

यसैगरी क्षेत्र नम्बर २ को (क) मा एमालेका विनोद खड्काले १७ हजार ३६६ मतका साथ विजयी हुँदा नेपाली कांग्रेसका माणिक ढकाललाई ९ हजार ८५८ मत आएको थियो । त्यसैगरी क्षेत्र नम्बर २ (ख)मा माओवादीका बुद्धिमान माझी १३ हजार ७४९ मत ल्याएर विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसमा छत्र बम्जन ८ हजार ५२३ मत ल्याएर पराजित हुनुभएको थियो ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेर प्रतिनिधि र प्रदेश सभामा सीट बाँडफाँट गरेका थिए । तर अहिले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको छ । समाजवादी सरकामा छ । उ सत्ता गठबन्धन रहिरहे गठबन्धन मार्फत नै निर्वाचनमा जानेछ । गठबन्धनमा जाँदा सिन्धुलीका दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा क–कसको भागमा पर्ने हो अहिले नै भन्न सकिने अवस्था छैन । किनकि गठबन्धनले सीटको ढुंगो लगाएको छैन ।