
पाल्पा । पाल्पाको तानसेनमा आज अमरनारायण रथयात्राले बजार परिक्रमा गरिएको छ ।
रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै जिल्लास्थित कार्यालय प्रमुख, विधालयका शिक्षक विधार्थी, भजनमण्डलीसहित सयौको संख्यामा भक्तजनको सहभागिता रहेको थियो ।
नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए । जनरल अमर सिंह थापाले वि.सं. १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएका थिए ।
मन्दिरमा भगवान नारायणको मुर्ति राखिएको भएपनि अमर सिंह थापाले आफै बनाएकाले उक्त मन्दिरको नाम नै अमर नारायण मन्दिर राखिएको छ । मन्दिर निर्माण पुरा भएपछि प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन रथयात्रा निकाली बजार परिक्रमा गर्ने परम्परा रहेको छ ।
कोभिड १९ का कारण विगत २ वर्ष मन्दिर परिसरमै औपचारीकताका लागि मात्रै रथयात्रा गरिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्