
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री कोइरालाले नेपाल कम्युनिष्ट पार्टीको वार्ता टोलीले सरकारसँग वि.सं. २०७७ फागुन २० मा सम्झौता गरेको सो अनुसार हालसम्म ५२३ मुद्दाहरु फस्र्यौट भइसकेको बताउनुभयो । उहाँलै नेपाल कम्युनिष्ट पार्टीमाथि कुल ६१० वटा मुद्दा लागेको बताउनुभयो । उहाँले अहिले ८७ वटा मुद्दा फस्र्यौटको क्रममा रहेको बताउनुभयो ।
मन्त्री कोइरालाले ६० जिल्लामा नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दाहरु रहेको उल्लेख गर्दै अदालतमा चलेका मुद्दाहरुमा पनि ११९ मुद्दा फैसला भइसकेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह र सरकारबीच भएको तीन बुँदे सहमति पूरा गर्नका लागि कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा ६१० वटा मुद्दाहरु रहेकोमा ५२३ मुद्दा फस्र्यौट भएको र ८७ मुद्दा कार्यविधिगत कानूनी प्रक्रिया बाँकी रहेका कारणले विचाराधिन रहेको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित झन्डै १५०÷१५५ को हाराहारीमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी निर्णय गरिसकेको पनि बताउनुभयो ।
महान्यायाधिवक्ता खातीले ऐन, कानूनले नेगेटिभ लिस्टमा राखेका मुद्दाहरु भने मन्त्रीपरिषद्बाट फिर्ता लिन नमिल्ने बताउनुभयो । उहाँले फिर्ता लिने मुद्दाहरुमा ३८ थान मुद्दा गृह मन्त्रालयबाट आएको र महान्यायाधिवक्ताको कार्यालयले त्यसको प्रक्रिया पूरा गरेर गृह हुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको अवस्था रहेको बताउनुभयो । ती मुद्दामा क्षतिपूर्तिको माग दाबी भएको कारणले पनि प्रक्रियागत रुपमा अघि बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्