१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँ : सभामुख भण्डारी


104
Shares

काठमाडौं । प्रदेश १का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले मानवनिर्मित प्रकोपलाई न्युनिकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

सभामुख भण्डारीले प्रदेश १ विपद्का हिसावमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्युनिकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने बताउनुभयो । उहाँले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न नसकेको बताउनुभयो ।

सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपद्का घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले नागरिक लाभान्वित हुने गरेर कानूनको कार्यान्वयनमा सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताउनुभयो ।