२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बैतडीमा मतदानस्थल अनुगमन शुरु


143
Shares

बैतडी । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन कार्य शुरु गरिएको छ ।

उक्त निर्वाचनलाई मध्येनजर गरेर दशरथचन्द नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार मतदानस्थल र मतदान केन्द्रको सुरक्षा स्थितीका बिषयमा जानकारी लिनका लागि अनुगमन शुरु गरिएको हो ।

डिलाशैनीको वडा नम्बर २ र ३, दोगडाकेदारका वडा नम्बर ४, ५, ७ र दशरथचन्दका ४ र ६ नम्बर वडाका मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहित जिल्ला सुरक्षा समितिका सदस्य, स्वास्थ्य कार्यालयका प्रमुख सहितको टोलीले मतदानस्थल, मतदान केन्द्र र स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा हालै पुनरवलोकन गरिएका मतदान केन्द्रहरुको अवस्थाका बारेमा जानकारी लिएको हो । पुनरावलोकन गरिएका निर्वाचन मतदान स्थल तथा केन्द्रहरू चुस्त रहेको पाइएको जनाएको छ । यसका साथै सोही क्रममा विभिन्न स्वास्थ्य संस्थाहरुमा पनि अनुगमन गरिएको छ ।

सूचना अधिकारी भारतीले भन्नुभयो,“ अनुगमनका क्रममा केही स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधि नभएको, कार्यालय व्यवस्थापनमा ध्यान नदिएको र खानेपानीको उचित प्रबन्ध नभएको समस्या देखिको छ, समस्या समाधानका लागि सम्बन्धित पालिका र समन्वयका लागि स्वास्थ्य कार्यालयलाई पनि आग्रह गरेका छौं ।”

जिल्लाका अन्य मतदानस्थल र मतदानकेन्द्रको पनि अनुगमन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन् । यहाँ १ लाख ५१ हजार मतादाता रहेका छन् ।