
सिन्धुली । सिन्धुलीको कमलाखोंच र मरिण लगायतका स्थानका किसानहरुले ठूलो संख्यामा पालेका हाँस र कुखुरा बिक्री वितरण नहुँदा किसानहरु चिन्तित बन्न थालेका छन् ।
हाँस र लोकल कुखुराले बजार नपाएको भन्दै किसानहरुले गुनासो गरेका हुन् । सिन्धुलीका स्थानीय किसानहरुले पालेका करिब ८ हजार हाँस र ७ हजार लोकल कुखुरा बिक्री नहुँदा दानाकै चिन्ता थपिएको किसानकाे भनाइ छ ।
हाँस र कुखुरा बिक्री नहुँदा हाँसलाई खुवाउने दाना किन्न समेत पैसाको समस्या भएको छ । यसअघि प्रत गोटा १५ सय रुपैयाँसम्म बिक्री हुने गरेको हाँस अहिले ५ सय रुपैयाँ प्रतिगोटा दिदा समेत बिक्री हुन छाडेको छ ।
हाँस र लोकल कुखुरा पालन गरेर गाउँघरमै स्वरोजगार बन्ने सपना बोकेको भएपनि उत्पादित हाँस र लोकल कुखुराले बजार नपाउँदा लगानी खेर जाने चिन्ता थपिएको किसानहरुले गुनासो गरेका छन् ।
हाँस र कुखुरा बिक्री हुन छाडेपछि त्यसको अण्डाबाट चल्ला निकाल्न ह्याचरी मेसिन समेत खरिद गरेर ल्याई चल्ला तयार गर्दा पनि चल्ला नै बिक्री गर्न समेत कठिन भएको किसानहरुको भनाइ छ ।
हाँस र कुखुरा बिक्री नहुँदा कामदारलाई ज्याला दिन, दाना किन्न र आफैंलाई घर व्यवहार चलाउन समेत कठिन भएको किसानहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्