१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीको गौरीशंकर गुफा अझै ओझेलमा


104
Shares

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा नं. ६ र ७ को सीमानामा पर्ने आरुबाेटे खोलाको अन्कन्टार जंगलमा विगत १२ वर्ष अगाडि फेला परेकाे गौरीशंकर गुफाको अझै संरक्षण हुन सकेको छैन् ।

जिल्लाका यस्ता प्राकृतिक र अदभूत गुफाहरुको संरक्षण र सम्बर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न ढिलाई हुँदा आर्थिक विकासमा समेत टेवा पुग्न सकेको छैन् । गौरीशंकर गुफामा करिब ५ मिटरसम्म घिस्रेरभित्र छिरेपछि ५० जना अटाउने फराकिलो ठाउँ रहेको छ ।

ढुंगाका शिलामा देवीदेवताका अनगिन्ति आकृतिहरु रहेका छन् । गुफा फेला परेपछि सिन्धुली जिल्ला र छिमेकी जिल्लाका विभिन्न स्थानवाट गुफा हेर्न मानिसहरुको भीड लागेको थियो ।

गुफाको संरक्षणका लागि स्थानीय चालिसेका लाल बहादुर गोलेको अध्यक्षतामा २१ सदस्यीय गुफा व्यवस्थापन समितिको समेत गठन गरिएकाे थियो । तर सरकारी चासो अभावका कारण संरक्षण समिति अन्याेलमा परेकाे छ ।

गुफामा तीन वटा शिवलिंग दुई वटा अजंगका हात्ती, दुईवटा नाग, ध्यानमग्न बुद्ध, गणेश भगवान्, तीनमुखे दाहिने शंख, हिमालय पर्वत, गौरी गाईका असंख्य थुनबाट दूध झरेको जस्ता प्रशस्त प्राकृतिक आकृतिहरु गुफाभित्र रहेका छन् ।

सोही गुफामा हलेसी महादेवको मन्दिरमा भन्दा दशौं गुणा बढी देवीदेवताका आकृति रहेका छन् । गौरीशंकर गुफाभित्र पसेपछि अक्सिजनको भूमि भएजस्तो महसुस हुने र जसले गर्दा स्वास्वा बढ्ने र स्वासप्रश्वासमा समेत कठिनाई उत्पन्न हुने बताइएको छ ।

गुफाभित्र कुनै पनि आकृतिको एक छेउमा टर्च बालियो भने त्यो आकृति पूरै उज्यालो देखिन्छ । गुफाभित्र ५५ मिटर भित्रसम्म मात्र मानिसहरु पुगेका छन् । त्यस भन्दा अगाडि जानलाई साघुँरो ओडार पार गर्नुपर्ने र डरलाग्दो देखिने हुनाले कोही जान सकेका छैनन् ।

विगतमा गौरीशंकर गुफामा प्रत्येक मंगलबार मानिसहरु हेर्न आउथे तर अहिले भने कमी भएकाे छ । यस्तो प्रकृतिको अदभूत गुफाको स्थानीय तह र अन्य सरकारी निकायबाट संरक्षणका लागि कुनै ठोस कार्यको थालनी हुन नसक्दा स्थानीयबासीले गुनासो गरेका छन् ।