
बैतडी । बैतडीमा पनि नेपाली कांग्रेसको ‘जनताको साथमा कांग्रेस’अभियान शुरु भएको छ ।
मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्येनजर गरेर पहिलो चरणको अभियान सञ्चालन गरिएको हो । पार्टी कार्यालयमा गोठलापानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले अभियानको शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै सभापति चन्दले अभियान गर्ने केन्द्रको निर्देशनगरेअनुसार बैतडीमा पनि सञ्चालन भएको बताउनुभयो । जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तक्र्रिया गर्ने उद्देश्यले अभियान शुभारम्भ गरिएको उहाँले बताउनुभयो ।
यस्तै कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय जनतासमक्ष राख्ने अभियानको उद्देश्य छ ।
अभियान शुभारम्भ कार्यक्रममा बोल्दै पार्टी उपसभापति वीरबहादुर विष्टले कांग्रेस बैतडी एकढिक्का भएर गठबन्धनमा भोट हाल्ने बताउनुभयो । अभियान अन्र्तगत पहिलो चरणमा आजदेखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने बताइएको छ ।
यसअघि कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सञ्चालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्