
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बलबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण र इन्डक्सन चुलोको प्रयोग गर्नेसम्बन्धी सम्झौता भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणाअनुसार सशस्त्र प्रहरी बलसँग सम्झौता भएको बताउनुभयो । ग्याँसको खपत घटाउने तथा विद्युत् उपयोगलाई बढाउँदै लैजाने लक्ष्यअनुरुप प्राधिकरणले काम गरिरहेको पनि उहाँले दाबी गर्नुभयो । महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउनुभयो ।
सो सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल सञ्चालित दुई पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च प्राधिकरणले व्यहोर्नेछ भने त्यसको सुरक्षा तथा सञ्चालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ ।
इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सबै गुल्मको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको कामसमेत हुने छ ।
प्रतिक्रिया दिनुहोस्