१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टी–ट्वान्टी अन्तर्गत दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित


845
Shares

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो ।

केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा पहिलो हार व्यहोरेको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरीमा गरेको छ ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए ।

आदील अन्सारी र रोहित पौडेलले २०/२० रन जोडे । पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । सोमपाल कामी २ रनमा आउट हुँदा वसिर अहमेद सुन्य रनमा अविजित रहे ।

केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए । करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए । अब नेपालले केन्याविरुद्धको तेस्रो खेल आइतबार खेल्ने छ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्ने छ ।