२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीको भद्रकालीमाई भक्तजनको आस्था र विश्वासको केन्द्र बन्दै


78
Shares

सिन्धुली । सिन्धुलीको प्रशिद्ध शक्तिपीठ भद्रकालीमाई श्रद्धादु भक्तजनहरुको आस्था र विश्वासको केन्द्र बन्दै जान थालेको छ ।

पछिल्लो समयमा सिन्धुलीगढी तथा वीपी राजमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत भद्रकालीमाईको पूजा आजा गरी दर्शन गर्नेहरुको संख्यामा वृद्धि भएको हाे । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका अन्तर्गत बर्दिबास–सिन्धुली–बनेपा सडकको ढुङग्रे भन्ज्याङमा अवस्थित ऐतिहासिक धार्मिकस्थल भद्रकालीमाई पछिल्लो समयमा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट १६ किलोमिटर उत्तर पश्चिममा पर्ने पुरानो भद्रकालीमाई प्राचिन शक्तिपीठ मानिन्छ । नेपालको मध्यपूर्वी क्षेत्रको प्रशिद्ध तथा पवित्र धार्मिक तीर्थस्थल भद्रकालीमाईको शुद्ध भई चोखो मनले दर्शन गरे मनोकां पूरा हुने जनविश्वास रही आएकाले यसको महिमा बढेको छ ।

भद्रकालीमाई स्थानमा मध्यपूर्वी पहाड र तराईका सर्लाही, महोतरी, धनुषा, रौतहट , बारा, पर्सा र सिराहा जिल्लाका सर्वसाधरणहरुले वर्ष दिनमा भद्रकालीमाईलाई भाकेर गरेको भाकल बुझाउन बली समेत लिएर दर्शन गर्न आउने प्रचलन विगतदेखि नै चली आएको छ ।

करिब १ हजार ३० वर्ष पहिले स्थापना भएकाे भद्रकालीमाई ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मन्दिर मानिन्छ ।