८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


गणतन्त्र लूटतन्त्रमा परिणत गरिँदै


0
Shares

अर्जुननरसिंह केसी, नेता, नेपाली कांग्रेस

नेपालमा गणतन्त्र आमूल परिवर्तन,नयाँ स्वप्न र उच्चतम प्रगतिको संकल्प र लक्ष बोकेको युगान्तकारी राजनीतिक परिवर्तन हो । यसको सार्थकता र सफलताका लागि राज्यका हर अंग, तह र पक्षबाट बञ्चितीकरणको अन्त्य र समावेशी सहभागिता, सामाजीक न्याय र सुरक्षाको प्रत्याभूतिमा प्रतिबिम्बित हुनुपर्छ ।

सिंगो राष्ट्रले गणतन्त्रलाई र गणतन्त्रले राष्ट्रलाई परस्पर गतिशीलता र स्थायित्व दिन, मुलुकको संविधानप्रति उच्च निष्ठा, विधिको शासनको पूर्णपालनाले मात्र गणतन्त्रले पद्धतिको पहिचान पाउन सक्छ ।

राष्ट्रपति केवल व्यक्ति होइन, संस्था हो, गणतन्त्रको गरिमामय धरोहर हो, राष्ट्रका सबै वर्ग, समुदाय र पक्षहरूको आशाको केन्द्र हो, राष्ट्रिय एकताको प्रतीक हो । तर यस्तो गरिमामय संस्थाबाट भए–गरिएका कतिपय गतिविधिले गणतन्त्रको प्रभाव, प्रतिष्ठा र गरिमामा आँच पुग्ने काम भएको छ ।

संंघात्मक लोकतान्त्रिक गणतन्त्रका दिनमा समावेशी संविधान पाएर पनि मुलुक अझै गतिहीन हुनुको जड हो दण्डहीनता, विधिविहीनता, चुलिएको भ्रष्टाचार, कुशासन तथा सत्ताले अपराधीलाई संरक्षण र कदर, जातीय विभेद जस्तो खेदजनक परिस्थिति र विकृतिहरूले गणतन्त्रलाई लूटतन्त्रमा परिणत गरिदैछ । यो कलंकमात्र होइन, गणतन्त्रको यात्राका बाधा–व्यवधान पनि हुन् ।

यही संविधानको खास्टो ओडेर वर्तमान सत्ताको शिखरबाटै यसलाई कुण्ठित र लाचार दस्तावेजको अवस्थामा पुर्याउने नियत लिइएको अनुभव राष्ट्रका सम्पूर्ण वर्ग र समुदायलाई भयो भने सत्ता नै जनताको लक्ष र अपेक्षामाथि कुठाराघात एवं गणतन्त्रको समस्या हुनपुग्छ ।

यो संविधानले प्रत्याभूत गरेका राष्ट्रपतिको सर्वोच्च तथा निष्पक्ष मर्यादित भूमिकाका साथै राज्यशक्तिको पृथकीकरण, संवैधानिक संस्थाहरुको सबलीकरण, शक्ति नियन्त्रण तथा सन्तुलन, संसदको सर्वोच्चता, स्वतन्त्र न्यायालय, स्वतन्त्र प्रेस, निर्वाचन पद्धति, आदि सबै संस्थापनाहरूले निर्वाध कार्यसम्पादन गर्न पाउँदामात्र संविधानले गणतन्त्रको सार्थकतालाई सुनिश्चितता दिनसक्छ ।

तसर्थ यस्ता प्रवृत्तिको बिरुद्ध प्रत्येक नेपाली नागरिकले आफ्नो लोकतान्त्रिक स्वतन्त्रता र मौलिक अधिकारको उच्चतम सदुपयोग गर्दै संविधानको सुरक्षा र पालनाका लागि सरकारका गतिविधिमाथि अंकुश लगाउन सक्नु नै संविधानको प्रभावकारिता र गणतन्त्रको सफलताको योगदान हुनपुग्छ । यसै कसीमा गणतन्त्र नेपालको समीक्षा र विश्लेषण जारुरी छ ।

आज बाह्रौ गणतन्त्र दिवस–२०७७ ले देश विदेश, हिमाल, पहाड, तराई/मधेश, पूर्व वा पश्चिम, गाउँ वा शहर जहाँ बसेको भएपनि सर्वप्रथम हामी सबै समान साझेदार र अंशियार समान नागरिक हौँ भन्ने अनुभूति दिलाउन सकोस् । गणतन्त्र दिवसको सुअवसरमा म सम्पूर्ण दिदीबहिनी दाजुभाईहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । जय नेपाल ।